Link is copied to clipboard.

Sikali Temple

सिकाली मन्दिर

खोकना बासीहरुको आस्था र विश्वाससँग गाँसिएको सिकाली मन्दिर , प्राचीन इतिहास र संस्कृतिको अनुपम उदाहरण हो। ललितपुर महानगरपालिका वडा नं २१, खोकनाको सिकाली चौरमा अवस्थित यो मन्दिर, हिन्दुहरुको आस्था र विश्वाससँग गाँसिएको साथ साथै बौद्धमार्गीहरुले पनि यो स्थललाई ‘शिखी बुद्ध’ को इतिहाससँग जोडेर आस्था राख्ने गर्दछन्।

 

वस्ती विकासको इतिहास

प्राचिन कालमा मानिसहरु  ‘पचली’ बाट बसाईं सरेर खोकना आएका थिए भनिन्छ। किम्बदन्तीहरुलाई आधार बनाउँदा, एक वृद्द मानिस स्वर्गबास भएको ठानेर मानिसहरुले बागमतीमा दाह संस्कार गर्न ल्याएका थिए तर अचम्म के भयो भने, आगोको रापले पोलेर ती मानिस चिताबाट पो उठे। त्यसपछि, चितामा बसिसकेको मानिस आफ्नो घर जान नहुने भएकाले ती वृद्ध बागमतीको तिरै तिर सिकाली चौर आइपुगे तर ठिक त्यहाँ आइपुग्नासाथ ठुलो पानी र हावाहुरी चलेर कतै जान नसकेकाले त्यहिँ बसोबास गर्न थालेको भन्ने कथन प्रचलित छ। तर त्यस समयमा सिकाली चौर घना जङ्गल भएकाले विभिन्न जंगली जनावरको डर भएपछी ती वृद्ध मानिस, यहाँ खोकनामा बसाईँ सरेकाले यस ठाउँमा वस्ती विकास भएको भन्ने जनविश्वास पाइन्छ। तत्कालिन समयमा करिब ८०० घरधुरी भएको यस खोकनालाई, नेपालकै पहिलो बिजुली बत्ती बलेको ठाउँ भनेर पनि चिनिन्छ।

 

नामाकरण

‘सिकाली’ मन्दिरको नामाकरण सम्बन्धमा विभिन्न भाष्यहरु स्थापित छन्। हिन्दु भक्तजनहरुको आधारमा  ‘श्री काली’ बाट ‘सिकाली’ नामाकरण हुन पुगेको भन्ने जनविश्वास छ। यस सिकाली चौर, प्राचीन कालमा घना जङ्गल भएकाले  वनमा स्थापित गरिएकी देवी हुनाले, वनकाली देवीको नामले पनि कालीलाई चिनिन्छ। ‘श्री काली’ देवीको वासस्थान रहेको हुनाले सिकाली मन्दिरलाई पुजा उपासना गर्ने परम्परा परापूर्वकालदेखि नै चल्दै आएको छ। त्यस्तै अर्को कथन अनुसार, यस सिकाली मन्दिर जङ्गलमा रहेको हुनाले सिकाली रहन पुगेको हुन सक्छ भन्ने विश्वास गरिन्छ। लिच्छविकालमा प्रायजसो मानिसहरु ‘सि, सिंकर’ शब्दको प्रयोग गर्दथे। नेपाल भाषामा, ‘सि’ शब्दको अर्थ काठ हो र ‘संकर’ भन्नाले काठमा लाग्ने ‘कर’ भन्ने बुझिन्छ। वनमा काठ हुनु स्वाभाविक नै भएकाले जङ्गलमा रहेकी कालीलाई सि–काली हुँदै, सिकाली नाम रहन गएको स्थानियहरुको जनविश्वास रहेको छ।

 

मन्दिरको बनावट

दुई तल्ले प्यागोडा शैलीमा निर्मित यो मन्दिर काष्ठकलाले (काठको कला) भरिएको छ। यहाँ भएका तोरण र टुँडालहरुले यस मन्दिरको कलात्मक काष्ठाकलाको झल्को दिएका छन्।  अन्य ठाउँहरुभन्दा फरक किसिमको कला यो मन्दिरमा देख्न पाइने भएकाले यहाँ आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको देख्न सकिन्छ। सिकाली मन्दिरभित्र, सिकाली देवीको प्रतिमा शिलाको रहेको पाइन्छ साथै यो मन्दिरलाई पिठ मानेर समेत पूजा गर्ने प्रचलन छ। यस सिकाली पीठलाई रुद्रायणीको प्रतिकको रुपमा वर्णन गरिएको इतिहासमा पाइन्छ। दशैँको समयमा रुद्रयणी देवीलाई सिकालीमा ल्याएर पुजा गर्ने प्रचलन यथावत् नै छ।

यस सिकाली पीठको बीचमा रातो र पहेलो रङ्ग प्रयोग गरी मौलिक आकृतिहरु निर्माण गरिएको छ, जुन आकृति झट्ट हेर्दा त्रिशूल झैं देखिन्छ। यी आकृतिहरु नेपालमा किराँतिहरुको पालादेखि प्रचलनमा आएको र सो समय देखि नै यो चिन्ह कोर्ने परम्परा रहेको मानिन्छ। मन्दिरको पश्चिमपट्टी यज्ञहोम गर्ने ठाउँ बनाइएको छ, जहाँ विशेष गरि जात्रा पर्वको बेला बली दिएर होम गर्ने प्रचलन रहेको छ।

 

चाडपर्व र जात्राहरु

सिकाली मन्दिरमा  नित्यपूजा गर्नका लागि भनेर वडाबाट पुजारी खटाएर दैनिक रुपमा  पूजाआजा गरिँदै आएको पाइन्छ। मन्दिर नजिकै भोज भतेर गर्न भनेर एउटा पाटीको व्यवस्था गरिएको छ साथै त्यहाँ नजिकै सिकाली नाचा नाच्ने छयालीस जवानहरुले मुकुण्डो, पोषाक लगाउनको लागि अर्को पाटी बनाइएको छ।

यो मन्दिरमा देवालीको दिन विशेष पूजा हुने गर्दछ। त्यसदिन यहाँका गाउँबासीहरुले कल: (कलश) मा पूजा लिएर गई, पूजा सकेपछि त्यहाँ उपस्थित सम्पूर्णलाई प्रसाद भोज ग्रहण गराउने गरिन्छ। कल: मा भने चामल, सुपारी, फुल, गोजा, सिन्दुर, अबिर, जजङ्का (काँचो धागो) राखिन्छ र पूजा गर्ने गरिन्छ। त्यस्तै, खोकनामा कुनै परिवारमा नयाँ बच्चाको आगमन भएको छ भने पनि, देवालीको दिनमा सिकाली मन्दिरमा गएर ‘लपेश’को पातमा राखेर बच्चालाई भोज तथा परिवारका अन्य सदस्य समेत भएर भोज खाने गरिन्छ।

 

सिकाली जात्रा

स्वस्थानी व्रतकथामा आधारित भएर मनाइने सिकाली जात्रा मल्लकालीन राजा, अमर मल्लको पालादेखि सुरु भएको मानिन्छ। परम्परादेखि नै खोकनाका स्थानिय बासीहरुले दशैँको सट्टा असोज शुल्क तृतीयाका दिनदेखि पाँच दिन अर्थात् फूलपातीको दिनसम्म सिकाली जात्रा मनाउने प्रचलन रहिआएको छ।

असोज शुल्क तृतीयाका दिनमा खोकनामा रहेका तीनवटा गुठी तगु गुठी, सलाँ गुठी र जगु गुठीका तर्फबाट एक-एकवटा चोखो (खोट/दाग नभएको) राँगो ल्याएर खोकनाको पश्चिमतर्फको मूल प्रवेशद्वार बाहिर काट्ने गरिन्छ। त्यसपछि भने, दुई वटा गुठीका चार-चार जना गरि आठ जना कुमार केटाहरुद्वारा पुजा संचालन गरिन्छ र उनीहरुद्वारा नै राँगाको रगत सिकाली चौरमा रहेको मन्दिरमा लगेर चढाइन्छ। तृतीयाका दिनदेखि गुठीका देवता खलकले जात्रा अवधिभर चोखो खाने गर्दछन्। चतुर्थीको दिनमा ‘छोयलाभू’ मनाइन्छ। ‘छोयलाभू’ मनाउन तीनैवटा गुठीका सदस्यहरूको हरेक घरका घरमूली आएर भोज खाने प्रचलन रहेको छ।

छोयालाभूको भोलिपल्ट, पञ्चमीको दिन मुल जात्रा मनाइन्छ। मुल जात्राको दिनमा रुद्रायणी मन्दिरका देवी देवताहरुलाई खटमा बोकेर घुमाई, तीनवटै गुठीबाट तीन–तीनवटा गरि जम्मा, नौ वटा ‘घ्याम्पो’ संकलन गरि भैरव जगाएर, सिकाली चौरमा लगिन्छ। त्यसैदिन वडा कार्यालयको तर्फबाट पूजा पनि आउने गर्दछ। वडा कार्यालयको पूजा सक्किसकेपछि रुद्रायणी गुठीका छयालिस जवानहरुले हाँस, राँगो बलि दिएर पूजा गर्ने गर्दछन्। त्यसदिन भोज खाएपछि सिकाली नाच चलाउने छयालिस जवानहरु सलाँ: गुठीमा आई विभिन्न देवी देवताहरुको पोषाक र मुखुण्डो लगाएर खोकना वरिपरि घुम्ने र होम गर्ने गर्दछन्। स्वस्थानी व्रतकथामा आधारित दक्षप्रजापतिको यज्ञमा सतीदेवीले आत्मदाह गरिसकेपछि महादेवले आफ्नो जटाबाट वीरभद्र र महाकाली निकालेर, त्यस होमलाई भष्म गरेको प्रतीकात्मक रुपमा रुद्रायणी, महादेवहरुले होम कुल्चँदै गएको देखाइन्छ।

मुल जात्राको भोलिपल्ट षष्टीका दिन ‘दे:सा’ मनाइन्छ, जसमा रुद्रायणी गुठीका छयालिस देवगणहरूले विभिन्न देवी देवताको मुखुण्डो र रङ्गीचंगी पोषाक लगाएर सिकाली नाच नाच्ने गर्दछन्। जसमध्ये, चौध जनाले चौध देवी देवताहरू: रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमारको भूमिका निर्वाह गरि सोहि अनुसारको नाच नाच्छन्। बाँकी बत्तिस (३२) जनाले कलश बोक्ने, धूप बाल्ने, खाना खुवाउने, बाजा बजाउने आदि काम गर्नुपर्दछ।

दे:साको भोलिपल्ट सप्तमीका दिन जात्राको समयमा लगेका देवी देवताका मूर्तिहरू मन्दिरमै पुन: प्रतिस्थापन गरिन्छ। सप्तमीका दिन चौध देवताको मुखुण्डो मन्दिरको भित्तामा टाँगिन्छ र तान्त्रिक विधिद्वारा पूजा गरि थन्काइन्छ।

 

सिकाली चौर, पहिले घना जङ्गल भएको र त्यहाँ मानिसहरु बसोबास गर्न डर सिर्जना भएकाले, त्यहाँबाट बसाई सर्न थालेर खोकनामा बस्ती विकास भएको प्रसङ्गहरु पाइन्छन्। सिकाली देवीसँग जोडिएर, आज पनि विशेषत: खोकना बासीहरुले दशैंको समयमा मनाउने सिकाली जात्राले आज पनि खोकनाको विशेष र मौलिक इतिहासको पहिचान दिएको छ।

 

 

 

Maps

Discover exactly where it is on the map

Discussions

Share your thoughts

0 Discussion
Inline Feedbacks
View all comments