जसै ऊ वारि पाटन क्षेत्रको गोठदेखि दूध र मखानु खाएर फुत्तै हिँड्यो, उसले आफ्ना पाइलैपिच्छे मेक-अप नगरिएको एउटा अत्यन्त आत्मीय तर अनपेक्षित स्वागत-सत्कारले भरिपूर्ण उत्सुकता एवं हार्दिकताहरू ओच्छिएको पायो ।
उसको कानमा साउती थियो, जो दुरुस्त मिठा कविताहरूजस्ता थिए ।
उसको औँलाका टुप्पा-टुप्पामा सुकुमारता, कोमलता थिए, जो पाटनमा मगमगाइरहेका फुलहरूझैँ गीत्यात्मक थिए ।
उसको आँखाका परेलीहरूसँग एउटा निजत्व थियो, जसमा दार्शनिक गाम्भीर्यता अटुट थियो ।
सौन्दर्यको यसप्रकारको मिठो अभिषेकले छामछुमे तन्नेरी विशद क्षितिजको व्यापकतामाझ नुहाउन पुग्यो । उसको हृदयमा मानौँ, प्रेरणा, उल्लास र सुखको चिमोटाई शिवाय अर्कोथोक केही थिएन । उसको तन्तुतन्तुमा अद्भुतता, हार्दिकता, कोमलता, भावगत मुक्तता, अनियन्त्रितता वा स्वच्छन्दता, सहजता, स्वप्निलता थिए, जो बरोबर नवीनतम प्रतीत हुन्थे ।
पाटनले उसलाई यसरी लट्ठायो कि दुई दिनको बसको यात्रा (काठमाडौंदेखि अत्तरिया (२१ घण्टा, पहिरोका कारण) र अत्तरियादेखि मार्तडी (१७ घण्टा, बिचमा गाडी धेरै रोकेका कारण) र त्यसपछिको २ दिनको १२/१३ घण्टाको हिँडाइले दिएको थकान भुसुक्कै बिर्सियो । वारि पाटन छेडेर सोता पाटनतिर लम्किरहेको कथित विकास चेत अर्थात् ‘मार्तडी बडिमालिका पर्यटकीय सडक’मा उसलाई हिँड्न मन लागेन, ऊ सडकदेखि ठ्याक्कै माथि रहेको पदमार्गलाई पछ्याउँदै अघि बढ्यो ।
बाजुरा र कालिकोटका स्थानीयले चैतदेखि नै छाडेका भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैँसीलगायतका बस्तुभाउले लेकाली घाँस खाइरहेका दृश्यहरू निकै नजिकबाट हेर्यो । यस्ता चरिचरनका कारण मनपरी जडीबुटी सङ्कलन र तिनको गैरकानुनी चोरीसिकार बढ्दै जानाले यस भेगका जैविक विविधता ह्रासोन्मुख भइरहेका छन् भन्ने अड्कलबाजी पनि काट्दै रह्यो ।
***
४०/४५ मिनेट हिँडिसकेपछि उसले सोता पाटनको विमुग्धकारी रूप देख्यो । जसै देख्यो ऊ स्पन्दित भइगयो । स्पन्दित भइरहेकै बखत सोता पाटनले सिधै आएर ग्वाम्मै अँगालो मारेर, ‘केटा, अब तँ ठिक छस्’ भन्दिएपछि उसको त बोली नै फुटेन । लाटाले केरा हेरेझैँ वाल्ल परिरह्यो । आफ्नो आँखा अगाडिको हरिया पाटन र निलो आकाशलाई उसको हालत पतला भइगयो । एक अकथनीय, अवर्णनीय जीवन भोगाइको साक्षी भइरह्यो ।
प्रकृतिको यस बहुविध रूपले उसले छिटपुट अँगालेको क्रान्तिकारी र विद्रोही चेतना, युगीन विसङ्गतिप्रतिको आक्रोश वा राजनैतिक जागरण, मानवतावादी चेतना, नारीवादी चिन्तन, राष्ट्रियता, देशप्रेम, समानता, स्वतन्त्रता, भ्रातृयता वा सामाजिक उन्नतिको चाहना आदिआदि सबै बिर्सी त गयो । यस प्राकृतिक छटामाझ आफूलाई पाउँदा दुनियाँ बिर्सिएको उसले दुनियाँधारी यियस्ता प्रपञ्चहरू किन पो सम्झिरहन्थ्यो ? भन्नुस्, एक्कासौं शताब्दीको सामाजिक प्रयोगशीलताले प्रष्टसँग नछोइसकेको वा नबिटुलाएको यस चोक्टोले उसलाई हुरुक्कै पार्यो । हाय ..उसले यस्तरी हुरुक्कै भएर सास तान्यो कि धन्नैले फोक्सो नै बाहिर आइदिएन ।
ईर्ष्या, आकाङ्क्षा, आवश्यकता लगायतका वर्तमान, झर्कोलाग्दो वृहत् अतीत र पट्यारलाग्दो सुदूर भविष्यले आक्रान्त र आतङ्कित भइरहनुपर्ने सामाजिक/सांस्कृतिक अनुशासनलाई पालना गरिरहेको एउटा ‘छामछुमे तन्नेरी’लाई एउटा अत्यन्त सौन्दर्यशाली रत्नागर्भाले यस्तरी त अँगाल्ने होइन नि । यस्तरी त फसाउने होइन नि । उसको होसहवास नै उडाइदिने ? उसको चित्त नै चोरिदिने ? उसको सर्वस्व नै लुटिदिने ? उसलाई नाङ्गै पार्दिने ? यस्तो त गर्ने होइन नि ।
आफैँमा आस्थावान् र आफैँमा प्रतिध्वनित प्रकृतिको बाहुपासमा बेरिएको त्यो छामछुमेले मेलोमेसो पाएन कि, उसको देशका यो हावापानी पनि छ, यो माटो पनि छ, यो सुवास पनि छ । एउटा पूर्ण स्वतन्त्रताको महसुसले ऊ कताकसो अत्तालियो पनि- ‘अरे रे, यति मुलायम पनि छ जीवन ? अरे रे, यति आत्मीयभाव पनि सँगाल्न सक्छ मानव हृदयले ? अरे रे..यति इमानदार अनुभूति पनि मान्छेको थाप्लोमाथि बज्रिने गर्दछ ?’
भन्नुस्, उसले बुझ्यो कि मान्छे प्रकृतिको नातेदार वा मित्र हुनासाथ ऊ आफैँ प्रकृति भइजाँदो रहेछ । र, इमानदारीपूर्वक भन्दा यस्ता महसुसमा सम्प्रेषणीयताको सङ्कट आइपर्दो रहेछ । ऊ यतिबेला ल्यापटपको किबोर्डमा औँला अड्याएर त्यो महसुसलाई तनतनी पिइरहेछ । उसको जीवशास्त्रीय मुटुको तीव्र वेगलाई सुनिरहेछ । हरेक धड्क धड्कमा सम्पूर्णता वा अमूर्तता केही धड्किरहेछ । हाय..क्या जब्बर गद्यलयात्मक शिथिलता । ऊ पुनः एकपटक आफ्ना औँलाहरू विश्राम दिएर सेतो बादलको घेरा र छिनछिनमै हुने मौसम परिवर्तनका अभूतपूर्व दृश्यलाई सम्झिरहेछ ।
भन्नुस्, भौतिकतावश भौतारिरहने र कहिलेकसो भावुकतावश साह्रो घोरिइरहने र छुई रहने- त्यो छामछुमे केटो सोता पाटनको रोमाञ्चकारी आलिङ्गनले लल्याकलुलुक भई त गो । आफ्नो थाप्लोका एकाएक आइपरेको सुखले बौलाइ त गो । निकैबेर त्यो मनोहारी, मनकान्छे समयलाई जिब्रोमा राखेर जीवन-विधिमा सौभाग्यवश प्राप्त त्यस क्षणलाई खेलाइरह्यो । एउटा ऐतिहासिक सुखको स्वादलाई जिब्रोमा लिइरह्यो । आत्मप्रतिष्ठावश हो या स्वार्थवश उसले घुटुक्क थुक निल्न समेत सकेन ।
उसले चालै पाएन कि आत्मप्रकटीकरणको यस सुखानुभूतिले उसलाई आत्मरतिबाट पर हुत्याइदिइसक्यो ।
उसले चालै पाएन कि ऊ पुनः व्याख्यातीत भइसक्यो । ऊ एक दुर्लभ सुखसँग बेरिइसक्यो ।
उसले चालै पाएन कि मसिना-कमला स्पर्शहरूको काउकुतीले उसको बिचल्ली भइसक्यो ।
ऊसँग त्यो सामर्थ्य कहाँ ? पाइलैपिच्छे ब्युँझिरहेका विचित्रतालाई अलिबेर घुर्ने र के रहेछ भनेर पत्तो पाउने ।
ऊसँग त्यो बहादुरी नै कहाँ ? यस प्राकृतिक सदाबहार मौसमलाई आँखा मारेर ‘अरे है मैच्याङ, के साह्रो हो’ भन्ने ।
ऊसँग त्यो आँट नै कहाँ ? हरियो फाँटमा लतारिएका सुनौलो घाम किरणलाई ‘ओइ मुला, सुन् न हो’ भन्ने ।
आफ्नै दैनिकीको टोकाटोकसँग जुध्दै, आफ्नै जीवनदशाको उदासी ओढेर झोक्रिरहने त्यो छामछुमेलाई आफूसँग घटित, आफूकन व्यतीत, आफूसँगै यात्रारत यस समयलाई के भनेर बोलाउने हो थाहै भएन । आफूसँग इत्रिइरहेको, आफूलाई चिमोटिरहेको, आफूलाई कोट्याइरहेको यस प्रकृतिलाई के सम्बोधन गर्ने हो थाहै भएन । ऊ त ठाडै ट्वाँ भइदियो । प्वाक्कै पारिदियो । वाल्ल परिगयो । प्रकृतिको त्यो निर्मल, निश्छल धरातलीय यथार्थताबाट आफूलाई पटक-पटक पुरस्कृत गराइरह्यो । प्रकृतिलाई बारबार धन्यवाद भन्दै रह्यो । उसले आत्मबोध गर्यो, मानव प्रकृतिको विराटतासामू कति निरिह र नगण्य छ ।
***
जसै ऊ सोतापाटन क्षेत्रतर्फ झर्यो, उसको चित्त नागबेली गोरेटोले अँगालेको हरियाली, भुजङ्गकार (सर्पझैँ) खोलाको सुलुलु बगाइले लुछुप्पै भिजिगयो । २२ किलोको झोलाले थिचिरहेको आफ्नो काँधको दुखाइ बिर्सिएर ऊ सो भुजङ्गकार खोलाको कलरवसँग जिस्किन पुग्यो । ‘बोस, के साह्रो हो त अनि ? एउटै मन छ, कतिचोटी लुट्ने हो त नि ?”
बोस उर्फ भुजङ्गकार खोलाले केही भने पो त ? ऊ त आफ्नै आदिम लय समातेर गोलाडोला पाटनका हरिया फेदका काउकुती लगाइदिँदै उँधो झर्दो रह्यो ।
ऊ सोच्छ, यस बगाइले अलिबेरमा नेपालकै लामो नदी कर्णाली वा बुढीगंगा नदी वा मालगड खोला भेट्दो हो र ढुङ्गा-गिट्टी दोहनका मतियारका पाइलामुनि कुल्चिन पुग्दो हो । यो सोचले मात्रै पनि ऊ कठ्याङ्ग्रिन्छ । डरले ! त्रासले ! भयले !
ऊ अति बेसी भावुक भइकन भनिदिन्छ पनि, ‘बोस, यतै बस् हो । जति उँधो बग्दै जान्छस्, उति धमिलिनेछस् । उति बिटुलिनेछस् । उति प्रदूषित हुनेछस् । यतै बस्, भेडाका मसिना खुर भिजाई रह । भोटे कुकुर भुकाइमा अझ जीवन प्रवाह गराई रह । करिब १ सय ४० भन्दा बढी जातका फूल, सयौँ जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरालाई जीवन दिई रह । तल्तिर तेरो महत्त्व बुझ्ने कोही छैनन् । तँलाई अँगाल्ने कोही छैनन् ।’
बोस उर्फ भुजङ्गकार खोलाको सुलुलु बगाइ उसको आग्रहलाई बेवास्ता गर्दै कलकल आवाज निकालिरहन्छ । उसलाई झोक पनि चल्छ, ‘के साह्रो हो त नि, जवाफ नै फर्काउदैनस् । यतै गुडुल्किएर बस् हो मुलाङ । पोखरी बन् । यताका भैंसी र घोडा/खच्चडको आँत भिजाई रह । लोभीलो, पोटिलो चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेका हरिया यी पाटनका पाउँमा पाउजु बनेर बेरिई ! तर बिन्ति तल्तिर नझर् ।’
ऊ महसुस गर्छ, बोसको कलकलमा एउटा सुकसुकपन छाएको छ, उसलाई आफ्नो कुराले प्रभाव पारेको महसुस हुन्छ । ऊ फेरी भन्छ, ‘बोस, तेरो ऐतिहासिक निरन्तरताले धार्मिक, सांस्कृतिक र सामाजिक प्रथा परम्पराको रक्षा नसक्ने भयो । जैविक विविधता संरक्षण, प्राकृतिक सुन्दरता अभिवृद्धि, वन्यजन्तुको संरक्षण मान्छेले बिर्सिसक्यो । मान्छेले तँ जस्ता खोलाखोल्सीप्रतिको मानवीय संवेदनशीलता छैन हो मुलाङ । मैले भनेको मान्, तँ मजस्ता मान्छेको नजिकै नजाँ । यतै बस् ।’
यसपटक बोस उर्फ भुजङ्गकार खोलाको सुलुलु बगाइले केहि भनेजस्तो उसलाई लाग्छ, ‘छामछुमे, तैँले आफ्नो कवि हृदय पोखेर मलाई हुरुक्कै बनाइस् । म पनि तँलाई एउटा कवितांश सुनाउँछु । सुन्..’
‘कस्तुरी मृगको सुगन्ध बहने कैलाश मेरो घर,
भागिहिँड्छु म ता मनुष्यहरूको दुर्गन्धदेखिन पर ।” (माधव घिमिरे)
बोस उर्फ भुजङ्गकार खोलाको सुलुलु बगाइले यस कवितांश सुनिसकेपछि उसलाई कसोकसो आफू नै ठ्वास्स गनाए जस्तो लाग्यो । यसपछि छामछुमे तन्नेरी प्राकृतिक दोहनतर्फ अग्रसर वैश्विक प्रशासनिक भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार एवं बिनादर्ता, बिनानवीकरण र तोकिएका सर्त तथा बन्देजविपरीत खोलिएका क्रसर उद्योग तथा नदीजन्य पदार्थको अवैध उत्खनन, दोहन र राजस्व चुहावटका बग्रेल्ती घटनाहरू क्रमश: याद गर्न पुग्छ । र, मनमनै गम्छ, एउटा लेकाली खोल्सीको यो क्रन्दन सुन्दिने को होला ? अनि, मानव हुनुको अहङ्कार उन्मुख विविधतामय एवं विचलनयुक्त पुँजीवादलाई ऊ फेरी दे दनादन गाली बक्न थाल्छ ।
अचम्म, यसपटक पाटनले होइन भुजङ्गकार खोलाको सुलुलु बगाइले उसको पाइतला छुँदै उसले भनिदिन्छ, ‘जुत्ता खोल स्वाँठ । अरूलाई भएर नाघेर जाँ भन्ने थिएँ । तँलाई छुट भयो, तँ आफ्नो दुर्गन्ध पखाल्न सक्छस् । ममा पाइतला डुबाएर आफ्नो बाँकी यात्रा शृङ्गारिक बनाँ ।”
ऊ आफ्नो पाइतलालाई निकैबेर भुजङ्गकार खोलाको सुलुलु बगाइमा छाडिदिन्छ । आफ्ना हीनता, कुण्ठा, असन्तुष्टि, उकुसमुकुसलाई बगाइदिन्छ । मानव हुनुका कच्चा पदार्थ अर्थात् आफूकन व्याप्त निस्सारता, अर्थहीनता, निराशा, सन्त्रास, संशय, कुण्ठा आदि बगेर गइरहेको हेरिरहन्छ । हाय..क्या सानदार दृश्य । यो पैताला डुबाई उसलाई आफूलाई खुर्किने, ताछ्ने मौका हुन्छ । ऊ मौका गुमाउँदैन । आफ्नो आहतोपचार गरिरहन्छ । गरिरहन्छ ।
भुजङ्गकार खोलाको सुलुलु बगाई अझ बोल्छ, ‘चाहन्छस् भने मलाई पिई र रल्लिई । यी पाटनका लेकाली घाँस,फूलहरू तेरो स्वागतमा तम्तयार छन् । जाँ तिनको आतिथ्यता स्वीकार गर् ।’
***
जसै उसले आफूलाई पखाल्यो, आफ्नो आहतोपचार गर्यो- उसले सामुन्नेको सदाबहार कोणधारी जङ्गलमा आफूलाई अझ तीव्र र चञ्चल पायो । यी जङ्गलमा चाँप, सल्ला, देवदारू, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र या अरू कुन जातका रुखहरू छन् उसले चिन्न सकेन । उसलाई ७/८ कक्षमा पढेको यति मात्रै याद भयो- ‘महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भाग (२,१०१ मिटरदेखि ३,३५० मिटरसम्मको उचाइमा) कोणधारी जङ्गल पाइन्छ । यहाँ वर्षैभरि चिसो हुने र हिमपात भइरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन् ।’
यस स्मरणपश्चात् पनि ऊ महसुस गर्दै रह्यो,भुईँतिर नुहेका यी रुखहरू उसलाई कुनै कविता सुनाउँदै छन्..
शहरका काला/निला पिँचमा घिस्रिदा घिस्रिदा
बोझिला भएका पैतालाहरू
जब आइपुग्छन्,
कुनै पहाडमा,
कुनै घाँसे मैदानमा,
-नाङ्गा पैतालाहरू स-सना कुरामा रमाउँछन् !
जस्तो- साना तान्द्राहरू खुट्टाका औँलाबिच छिरेर मेटाइदिन्छ,
उसको मोजाको गन्ध !
जस्तो- रातो माटोमा चिप्किएका हरिया लेउहरू
पैतालामा टाँसिएर दबाइरहन्छ- उसको थाकेको कुर्कुच्चा, पिँडुला र घुँडा !
जस्तो- कान्लामा फुलिरहेका गन्धे झारहरू कुम
कोट्टाउँदै सोधिदिन्छन् उसलाई,- ‘ए ! कता ?’
जस्तो- रुखहरू झुक्दै आएर भनिदिन्छन्- अब ‘अलिकति उफ्री । मलाई भेट् ! मलाई छो ।’
जस्तो-
हावाहरू भनिरहन्छन्-
‘अझ बिस्तारै, अझ सुस्त..अब नदौडी । अब एकछिन यतै आराम गर !’
ऊ खिस्स हाँस्छ, यी कोणधारी जङ्गलले उसलाई आफ्नै भुलेबिर्सेको कविता सुनाइदियो ! ऊ फेरी हाँस्छ, यसपटक चाहिँ गलल । त्यसपछि ऊ फेरी हाँस्छ, यसपटक चाहिँ खितिति । र, ऊ खित्खिताइरहन्छ ।
खित्खिताउदै ऊ आफूले व्यर्थमै उमारेका निर्जीवीकरणका भीमकाय वृक्षहरूलाई हृदयबाट फ्याँक्दै कार्पेट बिच्छ्याए झैँ भुईँमा ढकमक्क फूल फुलेका भुईँकुहिरो र भुईँकुहिरोमुनि लुकेका जोगिफूल, टुकीफूल, बुकीफूल, सुनफूल, ब्रम्हकमल, जाइ, जुही, चमेली, सुन जाई, इन्द्रकमल आदिमाझ कुदिहिँड्छ ।
हरे..एउटा नाथे हृदय सित्तैमा कक्य्राक्क कुक्रुक्क परिगयो नि । र, त्यो छामछुमेले आफ्नै हृदयसम्म छाम्न बिर्सियो ।
सुख र विस्मृतिको आनन्दले बहुलायो ऊ ।
एउटा सृजनात्मक व्यथाले च्यापो उसलाई ।
अहँ..अहँ..उहुँ…उहुँ…।
भाषाको मानमर्यदालाई बिर्सेर प्वाक्क बोलिदियो, “प्रकृतिको यसप्रकारको थिचोमिचो, शोषण-अन्याय मलाई स्वीकार्य छ । स्वीकार्य छ..।”
‘जहाँतहीँ शीतल, जसैगरि पनि शुभ । जताततै शान्ति । हरे, यी चित्त चोर- पाटनहरू ।’, र, ऊ एक्लै बरबरायो ।